‘‘मुठभेड होइन, एकता चाहियो कांग्रेस कमजोर भए लोकतन्त्रलाई खतरा हुनेछ ।’: एकताका लागि संस्थापन पक्षको आह्वान

nepaltext.com

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका केही नेताहरूबीच भएको छलफलले पार्टी विभाजनतर्फ जान नदिन विशेष महाधिवेशन रोक्न आग्रह गर्ने निष्कर्ष निकालेको छ। काठमाडौंको बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा बसेको छलफलमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामालगायत सहभागी थिए। छलफलपछि जानकारी दिँदै केन्द्रीय सदस्य गुरु बरालले पार्टीलाई कमजोर बनाउने गतिविधिहरू सक्रिय भएकाले त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा गम्भीर विमर्श भएको बताए।

उनले भने, ‘इतिहासको मोडलमा पेलिचो छ । पार्टी विभाजन र कमजोर बनाउन सक्रिय छन् । त्यसकारण पार्टी एकता र फुटबाट जोगाउन कसरी सकिन्छ भन्ने छलफल भयो।’ बरालका अनुसार कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै जोखिममा पर्ने भएकाले भूराजनीति तथा राष्ट्रिय राजनीतिका जटिलताबीच पार्टी विभाजन हुन नदिन देशभरका नेता–कार्यकर्तालाई आह्वान गर्ने निर्णय गरिएको छ।

विशेष महाधिवेशनको नाममा पार्टी विभाजनतर्फ धकेलिँदै गएको निष्कर्ष निकाल्दै उनले त्यस अभियानमा लागेकाहरूलाई पनि एकढिक्का कांग्रेस निर्माणतर्फ फर्किन आग्रह गर्ने निर्णय भएको बताए। उनले भने, ‘विशेषको नाममा पार्टी विभाजन हुन लाग्यो , उहाँहरूलाई पनि कांग्रेस एकढिक्का बनाउन आह्वान गर्ने निर्णय भयो।’ छलफलपछि उनले थपे, ‘हामीले युवा र जिल्ला सभापतिको भेला बोलाएर मुठभेडतिर हैन एकतामा ल्याउन लागेका हौँ।’

यसैबीच नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ गते विशेष महाधिवेशन आह्वान गरिसकेका छन् भने संस्थापन समूहले सोही दिन युवा तथा जिल्ला सभापति भेला डाकेको छ। एउटै मितिमा फरक कार्यक्रम तय हुँदा कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष र एकताको बहस थप निर्णायक मोडमा पुगेको देखिन्छ।

प्रतिक्रिया