२२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बुझ्नका लागि आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो, जसको जवाफ उनले आयोगमा पेस गरेका हुन्। उक्त लिखित जवाफ प्राप्त भएको पुष्टि गर्दै आयोगका प्रवक्ता विज्ञानराज शर्माले अनलाइनखबरसँग भने, ‘उहाँले पठाउनुभएको लिखित जवाफ आयोगमा प्राप्त भएको छ।’ प्रवक्ता शर्माका अनुसार बयान लगायतका प्रक्रिया पूरा भइसकेपछि आयोगले अब प्रतिवेदन लेखनको काम अघि बढाएको छ। आयोगले यसअघि गत साता गृहमन्त्री रमेश लेखकको लिखित वक्तव्य र बयान लिएको थियो।
आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न विवरण र तथ्यांकहरू यसअघि नै संकलन गरिसकेको जनाएको छ। तल्ला तहका सुरक्षा अधिकारीहरूसँग बयान लिएपछि आयोगले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय तथा प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरूसँग समेत बयान लिएको थियो। त्यसबाहेक सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालीन गृहसचिव, मुख्यसचिवलगायतसँग पनि आयोगले बयान लिएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले पनि आफ्ना अधिकारीहरूसहित आयोगमा उपस्थित भई बयान दिएका थिए भने आयोगले सुरुवातमै पूर्वगृहमन्त्री रवि लामिछानेलगायतसँग बयान लिएको थियो। आयोगले सबै पक्षको विवरण संकलन गरेपछि निष्कर्षसहितको प्रतिवेदन तयार गर्ने तयारी अघि बढाएको जनाएको छ।