सुकुमबासी बस्ती भत्काइएकोमा हर्क साम्पाङको आक्रोश: 'लिपुलेक र महाकालीमा कति सेना पठायौ?'

nepaltext.com

काठमाडौंमा सुकुमबासी बस्ती भत्काइएको घटनाप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले कडा आक्रोश व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारको यस कदमलाई निरंकुशताको संज्ञा दिएका हुन्। विशेषगरी सुकुमबासी बस्ती हटाउनका लागि भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको विषयमा उनले सरकारको कार्यशैली र नियतमाथि तीखो प्रश्न प्रहार गरेका छन्।

साम्पाङले १९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन खोज्ने वर्तमान सरकारले लिपुलेक र महाकाली जस्ता संवेदनशील सीमा क्षेत्रमा कति सेना पठाएको छ भन्दै व्यङ्ग्य गरेका छन्। उनले सरकार आफ्नै विलासी गाडीको ढोका खोल्ने जस्ता औपचारिक काममा मात्र अल्झिएको तर वास्तविक राष्ट्रियता र जनताको समस्यामा बेवास्ता गरेको आरोप लगाएका छन्। सुकुमबासी बस्ती भत्काइएपछि हिजोदेखि नै सर्वसाधारण जनता सडकमा रात बिताउन बाध्य भएको भन्दै उनले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाएका हुन्।

यसैक्रममा उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै "माननीय रवि लामिछानेजी कता हराउनु भयो?" भनी प्रश्न गरेका छन्। जनता सडकमा अलपत्र पर्दा सरकार मूकदर्शक बनेकोमा आपत्ति जनाउँदै उनले देशका महत्वपूर्ण र गम्भीर मुद्दाहरूमा छलफल गर्नका लागि तत्काल सदन खोल्न समेत आग्रह गरेका छन्।

प्रतिक्रिया