कांग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरू

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरू भएको छ। सोमबार मात्र १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले यो अभियानलाई जिल्लादेखि प्रतिनिधि सभा क्षेत्रमा विस्तार गर्ने तयारी गरेका छन्। हालसम्म पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने हस्ताक्षर गरेका छैनन्।

हालै बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन प्रस्ताव गर्दा सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले असहमति जनाएका थिए। कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्य वा महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशतले हस्ताक्षर गरे विशेष महाधिवेशन तीन महिनाभित्र बोलाउनुपर्छ।

सभापति देउवा पक्ष अहिले रक्षात्मक बनेको छ। भदौ २४ गतेको प्रदर्शनमा घाइते भएपछि सैनिक अस्पतालमा उपचाररत देउवाले फोनमार्फत नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन्। देउवा पक्षले केन्द्रीय समिति बैठक बोलाएर बहुमतका आधारमा विशेष परिस्थिति देखाई आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने तयारी गरेको छ।

यसबीच, विशेष महाधिवेशन माग्ने समूहले देउवालाई ‘ग्रेसफुल एक्जिट’ दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। प्यूठानकी महाधिवेशन प्रतिनिधि तथा सांसद निमा गिरीले भनिन्, “जनताको मागअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने बेला आएको छ। ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाएपछि तीन महिनामा विशेष महाधिवेशन गर्नुपर्छ।”

विशेष महाधिवेशन माग गर्नेहरूमा शेखर–गगन समूहका साथै केही देउवा पक्षका प्रतिनिधिहरू पनि छन्। उनीहरूको भनाइमा, “यो नेतृत्व नै आउनुपर्छ” भन्ने उद्देश्य नभई, पार्टीलाई समयानुकूल रूपान्तरण गर्ने उद्देश्यले विशेष महाधिवेशन आवश्यक भएको हो।

यसअघि २०१४ सालमा विराटनगरमा भएको विशेष महाधिवेशनले सुवर्ण शमशेरलाई हटाएर बिपी कोइरालालाई सभापति चुनेको ऐतिहासिक उदाहरण छ। त्यसपछि कांग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो।

कांग्रेसको पछिल्लो (२०७८) महाधिवेशनमा ४७४३ प्रतिनिधि सहभागी भएका थिए। त्यसको ४० प्रतिशत अर्थात् १८९७ प्रतिनिधिको हस्ताक्षर भएमा विशेष महाधिवेशन माग्ने प्रक्रिया पूरा हुन्छ।

प्रतिक्रिया