जनकपुरधाम । मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ नेतृत्व चयनबारेको राजनीतिक गतिविधि तीव्र बनेको छ। बुधबार दुई तिहाइ बहुमतले मण्डललाई पदबाट हटाएपछि आज (बिहीबार) सर्वदलीय बैठक बस्ने तयारी भएको छ। जसपा (जनता समाजवादी पार्टी, नेपाल) का प्रमुख सचेतक रामअशिष यादवका अनुसार सभामुख चयनदेखि मुख्यमन्त्रीसम्बन्धी एजेन्डासम्म आजको बैठकका मुख्य विषय रहनेछन्।
सात दलीय गठबन्धनभित्र सभामुख पदमा कसले दाबी गर्ने, मुख्यमन्त्री लोसपा (लोकतान्त्रिक समाजवादी पार्टी) बाटै रहने कि अन्य दलले दाबी गर्ने भन्ने विषयमा बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।
यादवले भने– ‘आज बस्ने सर्वदलीय बैठक छलफलमा मात्र केन्द्रित रहनेछ । सभामुख चयनका बारेमा केन्द्रबाट आउने निर्देशनले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’ उनका अनुसार आजको बैठक निर्णयमा भन्दा पनि एजेन्डा तयारी र दलहरूबीच मत मिलानमा केन्द्रित हुनेछ।
लोसपाले आफूहरूले नै मुख्यमन्त्री पाउने विश्वास दोहोर्याइरहेको छ। लोसपा संसदीय दलका नेता जयनुल राइनले आफ्नो पक्षबाट जितेन्द्र सोनल नै पुनः मुख्यमन्त्री बन्नेमा आफूहरू विश्वस्त रहेको प्रस्ट्याउँदै भने– ‘यो विषयमा सात दलीय गठबन्धन एक ढिक्का रहेको र मुख्यमन्त्री लोसपाबाटै बन्नेमा कुनै दुईमत छैन ।’