काठमाडौं । नेकपा एमालेले आफ्नो आसन्न महाधिवेशनको उद्घाटन समारोहमा विघठित संसदमा प्रतिनिधित्व गर्ने १६ दललाई निम्तो दिने भएको छ। नयाँ खुलेका दलहरुलाई भने एमालेले निम्तो दिने छैन। यसअघि सत्ता सहयात्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमालेका नेताहरुले आज निवासमै गएर निमन्त्रणा गरेका छन्। सोही क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेर निम्तो दिइने एक नेताले जानकारी दिएका छन्।
विघठित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दललाई निम्तो दिइनेछ। यसअनुसार कांग्रेस, रास्वपा, राप्रपा, दुई जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीलाई निम्तो दिइनेछ। रास्वपाका सभापति रवि लामिछाने कारागारमा रहेका कारण कार्यवाहक सभापति डिपी अर्याललाई निम्तो दिइनेछ। विघठित प्रतिनिधिसभामा नभएका दलमध्ये राप्रपा नेपालका अध्यक्ष कमल थापाले निम्तो पाउनेछन्। त्यस्तै, नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई पनि बोलाइनेछ।
तर नयाँ खुलेका दलहरूसँग एमालेले सम्वाद गर्ने योजना नराखेको बुझिएको छ। कुलमान नेतृत्वको उज्यालो नेपाल, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, जनार्दन शर्माको प्रगतिशील नागरिक पार्टीलगायतलाई महाधिवेशनमा निम्तो नदिने तयारी छ।