धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिप्रति सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
शनिबार बिहान धनगढीस्थित मुख्यमन्त्री निवासमा आयोजित समसामयिक सुरक्षा अवस्था तथा विपद् व्यवस्थापनसम्बन्धी बैठकमा मुख्यमन्त्री शाहले सुनसरीसहित तराई–मधेसका जिल्लामा विकसित घटनाक्रमलाई ध्यानमा राख्दै सुदूरपश्चिममा सम्भावित प्रभाव पर्न नदिन पूर्वतयारी गर्न आग्रह गरे।
उनले सामाजिक सद्भाव कायम राख्न सम्बन्धित सबै निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिँदै सम्भावित चुनौतीको संयुक्त रूपमा सामना गर्नुपर्ने बताए।
मुख्यमन्त्रीका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्बर बमका अनुसार बैठकमा जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा सामाजिक सद्भावका पक्षमा सार्वजनिक अपिल जारी गर्ने र सबै जिल्लामा सद्भाव र्याली आयोजना गर्ने तयारीबारे पनि मुख्यमन्त्रीलाई जानकारी गराइएको थियो।
मुख्यमन्त्री शाहले सामाजिक सद्भावविरोधी गतिविधिको प्रभाव र शान्ति–सुरक्षाको अवस्थाबारे समयमै पूर्वानुमान गरी त्यस्ता घटना हुन नदिन सुरक्षा निकायले आवश्यक पूर्वसर्तकता अपनाउन निर्देशन दिए। साथै, मनसुनका कारण आउन सक्ने प्राकृतिक विपद्लाई ध्यानमा राख्दै उद्धार, प्रतिकार्य र विपद् व्यवस्थापनका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न पनि उनले आग्रह गरे।
बैठकमा प्रदेशको समसामयिक राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका प्रदर्शन तथा मनसुनजन्य विपद्का सम्भावित बहुआयामिक चुनौतीबारे छलफल गरिएको थियो। सहभागीहरूले सामाजिक सद्भाव कायम राख्न सबै पक्षले आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिएका छन्।
बैठकमा प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, नेपाली सेना सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति उपरथी पवन खत्री, उपरथी किरण केसी, प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराई तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति दिग्विजय सुवेदीलगायत सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।