विराटनगर — विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन विवाद समाधान भएको छ। स्थानीयवासी, महानगर र प्रशासनबीच सात बुँदे सहमति भएपछि फोहोर नियमित रूपमा उठ्न थालेको छ। यसअघि महानगरपालिकाले साविक विराटनगर–१६ बाट डम्पिङसाइड १६ मा फोहोर लगेपछि स्थानीयबासी र सुनसरीको बर्जु गाउँपालिका वडा नं २ र ३ का बासिन्दाले विरोध जनाएका थिए। दरहियामा फोहोर फाल्न अवरोध गर्दा विराटनगरको फोहोर ६ दिनसम्म उठ्न सकेको थिएन। छलफलपछि दरहियामा फोहोर व्यवस्थित रूपमा फाल्ने सहमति जुटेको छ, जसअन्तर्गत दैनिक औषधि छर्केर दुर्गन्ध हटाउने, बेला–बेलामा माटोले पुरेर व्यवस्थापन गर्ने व्यवस्था तय भएको छ।
साथै, फोहोर विसर्जन केन्द्रसम्मको बाटो अग्लो बनाइ ग्राभेल गर्ने, फोहोर बोक्ने गाडी पूर्ण रूपमा छोपेर ढुवानी गर्ने, वर्षातको समयमा सम्भावित बाढी र डुवानको जोखिमलाई ध्यानमा राखी केसलिया खोलामा व्यवस्थित र अग्लो बाँध बनाउने निर्णय भएको छ। फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायले बेला–बेलामा अनुगमन गर्ने सहमति पनि भएको छ। अनुगमनको लागि विराटनगर–१६ का वडाध्यक्ष संयोजक, बर्जु–२ र ३ का वडाध्यक्ष सहसंयोजक, जिल्ला प्रशासनका प्रशासकीय अधिकृतसहित स्थानीयवासीको टोली बनाउने निर्णय जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।