सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

nepaltext

काठमाडौं । नेपाल सरकारले पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गएको हिमपहिरोमा परी नेपालीसहित अन्तर्राष्ट्रिय आरोहण टोलीका सदस्यहरूको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ तर्फ जाने क्रममा आएको हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै आरोहणमा रहेका अन्तर्राष्ट्रिय टोलीका सदस्यहरूको दुःखद निधनले नेपालको पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ।

मन्त्रालयका अनुसार नेपाली आरोहीहरू संलग्न टोली बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय तथा नेपाली उद्धार टोलीले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएका थिए। उच्च हिमाली क्षेत्रमा प्रतिकूल परिस्थितिका बीच खोज कार्यमा खटिएका पाकिस्तानी र नेपाली पर्वतारोही टोलीको साहसिक प्रयासको मन्त्रालयले प्रशंसा गरेको छ।

विज्ञप्तिअनुसार हालसम्म नेपाली आरोही पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने अन्य आरोहीहरूको खोजी कार्य जारी छ।

मन्त्रालयले मृतक नेपाली आरोहीहरूको शव स्वदेश ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासमार्फत आवश्यक समन्वय र सहजीकरण भइरहेको जनाएको छ। साथै, दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया