‘मुलुकलाई विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन’ : माधव नेपाल

nepaltext

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन्।

आइतबार तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको स्वाभिमान जोगाउनु र मुलुकलाई विदेशी शक्तिको क्रीडाभूमि बन्न नदिनु अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे।

नेपालले नेपाल कुनै पनि देशको अधीनमा बस्न नचाहने र कुनै राष्ट्रविरुद्ध उभिन पनि इच्छुक नरहेको स्पष्ट पार्दै सबै मुलुकसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

उनले पछिल्ला दिनमा मुलुकभित्र आपसी असमझदारी बढाउने र बाह्य प्रभावतर्फ तान्ने प्रयास भइरहेको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहन सबैलाई आग्रह गरे।

सहसंयोजक नेपालले शहीदहरूको त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र तथा संघीय शासन व्यवस्थाको संरक्षण गर्नु वर्तमान पुस्ताको महत्वपूर्ण दायित्व भएको बताए। लोकतन्त्र स्थापनाका लागि तुल्सीलाल अमात्यले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै उनले त्यही प्रतिबद्धता र आदर्शलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा उनले जनताका दैनिक समस्याप्रति राज्य पर्याप्त संवेदनशील हुन नसकेको आरोप पनि लगाए। गरिबी, बेरोजगारी, मिटरब्याज पीडित, सहकारी ठगीका पीडित तथा सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर नबन्दा नागरिक आत्महत्याजस्ता दुःखद् निर्णय लिन बाध्य हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले यी विषयमा वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट भएर गम्भीरतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया