काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले लगातार तीन पटक उम्मेदवार भइसकेकाले यसपटक क्षेत्रका अन्य साथीहरूलाई अघि सार्ने प्रस्ताव गरिसकेको जानकारी गराए । बैठकमा उनले नेपाली राजनीतिमा देखिँदै आएको सत्ता र क्षेत्र ‘कब्जा’ गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै भने, ‘आफ्नो ‘पावर’ ले भ्याएसम्म उम्मेदवार बन्ने । जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने । एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भए पनि उम्मेदवार बन्नैपर्ने । बाँचुन्जेल क्षेत्र ‘कब्जा’ को सोच राख्ने सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने । हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ,’ भन्दै उनले थपे, ‘अतस् लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु ।’
यद्यपि झापा–१ बाट शर्माको नाम सर्वसम्मत रूपमा एकल उम्मेदवारका रूपमा सिफारिस भइसकेको छ । त्यसप्रति आभार व्यक्त गर्दै उनले आफू यसपटक देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्ने बताए । ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिए, यो पटक देशव्यापी पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु,’ उनको भनाइ थियो । यसअघि पार्टी सभापति शेरबहादुर देउवासँगको भेटमा निर्वाचनअघि महाधिवेशन हुन नसकेमा आफू चुनाव नलड्ने संकेत गरेका थिए ।
महामन्त्री शर्माले अर्का महामन्त्री गगन थापाले अघि सारेको वडा र क्षेत्र अधिवेशन सम्पन्न गरेर पुस २६ मै केन्द्रीय महाधिवेशन गर्नुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । उनका अनुसार तीन तहको अधिवेशन गर्ने गरी यसअघि तय गरिएको कार्यतालिका संशोधन गर्न आवश्यक छ ।
शर्माले हाल चुनावी वातावरण अनुकूल नभएको उल्लेख गर्दै सर्वपक्षीय छलफलका आधारमा वैशाखमा निर्वाचन सार्न सरकारलाई सुझाव दिन पार्टीले पहल गर्नुपर्ने बताए । २१ फागुनमा निर्वाचन सार्दा उठ्न सक्ने संवैधानिक प्रश्नलाई ध्यानमा राख्दै सात प्रदेशका सात निर्वाचन क्षेत्रमा निर्वाचन गराएर बाँकी निर्वाचन वैशाखमा गर्न सकिने विकल्प पनि उनले अघि सारे ।