काठमाडौँ - साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य घटेको छ। नेप्सेका अनुसार आज परिसूचक २.२५ अङ्कले घटेर २,६४१.५८ बिन्दुमा बन्द भएको हो।
आज बजारमा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभर ३५० वटा स्क्रिप्सका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर ५६ हजार ८१८ पटक खरिद–बिक्री भएका छन्।
कारोबार भएका कम्पनीमध्ये ७२ वटाको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ। पाँच कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
आज सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट हाइड्रोपावरको सेयर मूल्य करिब १५ प्रतिशतले बढ्दै सर्वाधिक कमाउने कम्पनी बनेका छन्। रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ११.१७ प्रतिशत तथा सगरमाथा जलविद्युत् कम्पनीको ११.०६ प्रतिशतले बढेको छ। यता, फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य सर्वाधिक ६.६३ प्रतिशतले घटेको छ।
समूहतर्फ फाइनान्स उपसूचकमा सर्वाधिक १.१४ प्रतिशतको गिरावट आएको छ। उत्पादनमूलक समूहमा भने १.३० प्रतिशतको वृद्धि देखिएको छ। अन्य उपसूचकमा १ प्रतिशतभन्दा कमको उतारचढाव भएको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको मात्रै १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सोलु हाइड्रोपावरको ३८ करोड ४४ लाख रुपैयाँ र रिडी पावर कम्पनीको १६ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।