मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

nepaltext

काठमाडौं। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले विजेताको नाम घोषणा गरेका हुन्।

साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबार गर्ने उपभोक्तालाई समेटेर गरिएको दोस्रो चरणको उपहार योजनामा गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्। त्यस्तै, अन्य १५ जना उपभोक्ताले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार उपहार योजनामा सहभागी हुने उपभोक्ताको संख्या पहिलो महिनामै उल्लेख्य रूपमा बढेको छ। साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहार योजनाका लागि दर्ता (अपलोड) भएका छन्। यसअघि साउनको पहिलो १५ दिनमा जम्मा ७ हजार ७७ वटा बिल मात्रै अपलोड भएका थिए।

त्यसैगरी, क्यूआरमार्फत कारोबार गरी उपहार योजनामा स्वतः सहभागी हुने उपभोक्ताको संख्या पनि बढेको छ। पहिलो १५ दिनमा २ करोड ५६ लाख ८ हजार ९४ रहेको यस्तो कारोबार संख्या दोस्रो चरणमा बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको विभागले जनाएको छ।

विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्मको अवधिमा उपहार योजनामा सहभागी कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यही कारोबारमध्येबाट दोस्रो पाक्षिक अवधिका १६ जना विजेता छनोट गरिएको हो।

विजेतामध्ये साउन १६ देखि ३१ गतेसम्मको अवधिबाट छनोट भएका १६ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाएका छन्। आयकर कट्टीपछि उनीहरूले प्रतिव्यक्ति खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया