काठमाडौं - उज्यालो नेपाल पार्टीले विद्युत्मा सरकारले लगाएको कर खारेज गर्न तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ।
काठमाडौंको माइतीघरमा अभियानको सुरुवात गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले विद्युत् र इन्डक्सनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा सरकारले उल्टै कर लगाएको भन्दै त्यसलाई खारेज गर्न माग गरे।
घिसिङले इन्डक्सन तथा विद्युतीय सवारीसाधनका चार्जिङ स्टेसन सञ्चालन गर्दा ट्रान्सफर्मर वा विद्युत् लाइनमा समस्या आउँछ भन्दै सम्बन्धित निकायबाट भ्रम फैलाउने काम भएको आरोप लगाए। उनले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग व्यापक बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा ७०–८० प्रतिशतसम्म भन्सार तथा कर बढाएर पेट्रोल, डिजेल र ग्यासको आयातलाई नै प्रोत्साहन गर्ने नीति गलत भएको बताए।
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको भ्याट हटाएकोमा सरकारलाई धन्यवाद दिँदै उनले राइड सेयरिङमा संलग्न व्यक्ति तथा मासिक २०–३० हजार रुपैयाँ आम्दानी गर्ने सामान्य श्रमिकमाथि समेत करको भार थोपर्ने नीतिको विरोध गरे।
पार्टीले विद्युत् खपत बढाउने, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने र देशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने नीतिअनुसार करसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ।