काठमाडौँ । नेपालका हजारौँ शिखरमध्ये केही शिखर केवल उचाइका लागि होइन, आस्थाका लागि पनि चिनिन्छन्। तीमध्ये एक हो दोलखामा रहेको कालिञ्चोक, जहाँ पुग्न कहिल्यै सजिलो थिएन। उकालो, हिउँ, कठोर मौसम र लामो यात्रा मात्र होइन, धैर्यताको परीक्षा थियो। तर दोलखाली बालकृष्ण शिवाकोटीले त्यही पहाडमा समस्या होइन, सम्भावना देख्नुभयो। उहाँले भनेका थिए, ‘यहाँ बाटो छैन भन्ने होइन, यहाँबाट नयाँ बाटो खुल्न बाँकी छ।’
संघर्ष सुरु भयो, मौसम, पहाड र समय साक्षी बने। कठिनाइसँग लड्दै, धैर्य, मेहनत र दृढताले कालिञ्चोकमा सम्भावनाको नयाँ इतिहास लेखियो। आज कालिञ्चोक दर्शन केवल केबलकार मात्र होइन, एउटा सपना साकार भएको उदाहरण बनेको छ। जहाँ पहिले उकालो थियो, आज सहज यात्रा छ। जहाँ जोखिम थियो, आज सुरक्षा छ। जहाँ कठिनाइ थियो, आज अवसर छ। बालकृष्ण शिवाकोटीको नेतृत्वमा कालिञ्चोक दर्शन र कालिञ्चोक इन्भेष्टमेण्ट कम्पनीले स्थानीय रोजगार, व्यापार, यातायात सुविधा र तीर्थयात्रा/पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याएको छ। परियोजनाले स्थानीय समुदायको सामाजिक र आर्थिक जीवनलाई नयाँ दिशा दिएको छ।
कालिञ्चोक दर्शनले आम सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको छ भने कालिञ्चोक इन्भेष्टमेण्ट कम्पनीले पनि आइपीओ तयारी गरिरहेको छ। यसले हजारौँ युवालाई रोजगारी दिएको छ र समग्र नेपालको अर्थतन्त्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। बालकृष्ण शिवाकोटीले कठिन भूगोल मात्र होइन, स्थानीय समुदायको सम्भावना र विकासको बाटो पनि खोल्नुभयो।
बालकृष्ण शिवाकोटीको राजनीतिक यात्रा पनि त्यत्तिकै सक्रिय छ। उहाँले विद्यार्थी जीवनदेखि नै नेकपा एमाले मार्फत राजनीतिमा प्रवेश गर्नुभयो। अनेरास्ववियुका विभिन्न पदहरू सम्हाल्दै पार्टीको नेतृत्व र संगठन निर्माणमा योगदान पुर्याउनुभयो। दोलखामा इलाका सचिव, क्षेत्रीय कमिटी सचिव र सचिवालय सदस्यका रूपमा पार्टी सञ्चालन र विकास निर्माणमा निरन्तर संलग्न रहँदै, उहाँले २०६५ मा नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा सर्वाधिक मत ल्याएर प्रतिनिधित्वमा विजयी हुनुभयो। हाल उहाँ एमालेको बागमति प्रदेश कमिटी सचिवालय सदस्य र उद्योग व्यवसाय सम्बन्धी भातृ संगठनको केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ।
सामाजिक क्षेत्रमा पनि शिवाकोटी सक्रिय छन्। विपद्, राहत, पुनर्निर्माण तथा स्थानीय सामाजिक–मानविय काममा उहाँको योगदान उल्लेखनीय छ। विशेषगरी २०७२ सालको भूकम्पपछिको राहत र पुनर्निर्माणमा उहाँ अग्रणी भूमिका निभाउनुभयो। यही नेतृत्व र सामाजिक सक्रियताले उनलाई दोलखा निर्वाचन क्षेत्रमा व्यापक जनविश्वास दिलाएको छ।
आशन्न नेकपा एमालेको ११औँ महाधिवेशनमा बालकृष्ण शिवाकोटी केन्द्रिय सदस्य पदका लागि उम्मेदवार बन्ने तयारीमा छन्। दोलखासहित बागमती प्रदेशभरिका पार्टी नेताहरू र भातृ संगठनका जिम्मेवारहरूले उहाँको उम्मेदवारीलाई बलियो बनाउन विभिन्न तहमा छलफल र अभियान सुरु गरेका छन्। स्थानीय नेताहरूको अनुसार, शिवाकोटी जिल्लाको राजनीतिक, सामाजिक र आर्थिक विकासमा निरन्तर सक्रिय व्यक्ति हुन् र उनी केन्द्रीय सदस्य बनेमा पार्टी थप क्रियाशील र सशक्त हुने विश्वास गरिएको छ।
कालिञ्चोकको कठिन उकालोबाट सहज यात्रामा रूपान्तरण गर्ने बालकृष्ण शिवाकोटीको कथा केवल पर्यटन र व्यवसायको सफलता मात्र होइन, संघर्ष, दृष्टि र नेतृत्वको संयोजनले सम्भावना र विकासको मार्ग खोल्न सकिने जीवित उदाहरण हो। जहाँ धेरैले असम्भव देखे, त्यहीँ सम्भावनाको बाटो खोलेर शिवाकोटीले कालिञ्चोकलाई राष्ट्रिय स्तरको आस्था, पर्यटन र विकासको स्थलमा उभ्याउनुभएको छ।