काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनको पक्षधरहरूसँग संवाद गरेर पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न दबाव बढाएका छन्। आज महाराजगञ्जस्थित सभापति शेरबहादुर देउवाको निवासमा भएको भेटमा नेता कोइरालाले पार्टीमा को के हुने भन्दा पनि पार्टीको एकता जोगाउनु नै मुख्य प्राथमिकता भएको भन्दै बृहत्तर सहमतिका लागि पहल गर्न आग्रह गरेका हुन्।
नेता कोइरालाले महामन्त्रीद्वयले आह्वान गरिसकेको विशेष महाधिवेशनको अवसरलाई सबै पक्षको सम्मान हुने गरी समाधान खोज्ने विषयमा सभापति देउवाको ध्यानाकर्षण गराएका थिए। उनले भने, “म कोइराला हुँ। पार्टी विभाजन भएको हेर्न सक्दिन। विभाजनको पीडा तपाईले पनि भोग्नुभएकै छ। के के गर्नुपर्छ, गरौं—विभाजन रोकौं।” आफ्ना लागि सभापति बन्ने वा नबन्ने भन्दा पनि कांग्रेस सग्लो रहने वा नरहने कुरा महत्वपूर्ण भएको उनले देउवालाई स्पष्ट पारेका थिए।
शेखरले थपे, “म भोली सभापति बनुला वा नबनुला, तपाईले सहयोग गर्नुहोला वा नहोला। त्यो भन्दा महत्वपूर्ण कुरा कांग्रेसको एकता हो। एकता जोगाउन तपाईले पहल लिनुस।” जवाफमा सभापति देउवाले पछिल्लो परिस्थितिप्रति आफू चिन्तित रहेको र सबै पक्षसँग संवादका लागि तयार रहेको बताएका छन्।
भेटको क्रममा नेता कोइरालाले महामन्त्रीहरुले आह्वान गरेको विशेष महाधिवेशनलाई संकल्प सभा मा रूपान्तरण गरेर पार्टी एकताको मार्ग खोल्न सुझाव दिएका छन्। उनले भने, “विधान अनुसार समयमै महाधिवेशन हुनुपर्छ भन्नेमा म सधैं उभिएको छु। अहिले चुनाव र अन्य चुनौतीका कारण पार्टी समस्यामा छ। यस्तो बेला बोलाइएको भेलालाई साझा मञ्च बनाएर एकता जोगाउन तयार हुनुपर्छ।”
यसअघि उहाँले महामन्त्रीद्वयसँग संवाद, छलफल र समाधानका विकल्प खोज्न देउवामाथि दबाव बढाएका थिए। त्यस्तै आजै दिउँसो २ बजेपछि उपसभापति धनराज गुरुङ र सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसहित शेखरले पुनः सभापति देउवासँग छलफल गर्ने कार्यक्रम तय भएको छ।