२४ पुस, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्यसमितिले यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन महाधिवेशन प्रतिनिधि, पार्टी पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई औपचारिक आह्वान गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको धरोहरका रूपमा रहेको नेपाली कांग्रेस ऐतिहासिक मोडमा पुगेको उल्लेख गर्दै जिल्ला कार्यसमितिले यस विशेष महाधिवेशनलाई पार्टीको भावी दिशा तय गर्ने निर्णायक र ऐतिहासिक अवसरको रूपमा सफल बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। आह्वानपत्रमा २३ र २४ भदौमा देखिएको युवा विद्रोह, त्यसपछि विकसित राजनीतिक परिस्थिति, संविधानको रक्षा तथा आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण अपरिहार्य बनेको स्पष्ट उल्लेख गरिएको छ। साथै नेपाली कांग्रेस अर्घाखाँचीका विभिन्न तहका जिम्मेवार पदाधिकारी तथा सदस्य, प्रदेशसभा ‘क’ र ‘ख’ का पदाधिकारी तथा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्य, सम्पर्क समिति तथा सम्पूर्ण कांग्रेसीजनलाई जिम्मेवारीका साथ विशेष महाधिवेशन भव्य र सफल बनाउन अग्रसर हुन आग्रह गरिएको छ। जिल्ला कार्यसमितिका सभापति केशव श्रेष्ठ र सचिव कृष्णप्रसाद खनालद्वारा जारी उक्त आह्वानमा विशेष महाधिवेशनलाई नेपाली कांग्रेसको भावी कार्यदिशा र राजनीतिक यात्राको मार्गचित्र तय गर्ने ऐतिहासिक अवसरका रूपमा लिइएको छ।