एनपिएल अपडेटः आज विराटनगर र चितवन रोमाञ्चक आमनेसामने

nepaltext.com

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुने भएका छन्। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज दिउँसो ४ बजे सुरु हुने यो खेल लिग चरणको महत्वपूर्ण भिडन्त मानिएको छ।

विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवन राइनोजको कप्तानी कुशल मल्लको हातमा छ। तीन खेलमा निरन्तर जित निकाल्दै ६ अंकसहित उत्कृष्ट प्रदर्शन गरिरहेको विराटनगर अझैसम्म अपराजित छ। अंक तालिकामा सुदूरपश्चिमसँग समान अंक भए पनि रनरेटका आधारमा विराटनगर दोस्रो स्थानमा रहेको छ।

यता चितवनले भने दुई खेलमै २ अंक जोडेको छ। पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको शानदार जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो। यस कारण टोली हाल तालिकाको पाँचौं स्थानमा रहेको छ।

एनपीएलको यो संस्करणमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्। आजको खेलले विराटनगरलाई अपराजित यात्रालाई बलियो बनाउने कि चितवनलाई लय समाउन मद्दत गर्ने भन्ने रोचक प्रश्न बोकेको छ।

प्रतिक्रिया