सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्था र निर्वाचन प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले मुलुकलाई सही दिशा नदिने दाबी गर्नुभएको छ। सुनसरीको चक्रघट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले २०८४ सालमा हुनुपर्ने निर्वाचनलाई २०८२ मै जबरजस्ती गराइए पनि यसले विद्यमान समस्याहरूको समाधान नगर्ने जिकिर गर्नुभयो। अध्यक्ष लिङ्देनले यही व्यवस्था र निर्वाचनबाटै जनताको अवस्था सुध्रिन्छ भनेर मुलुकलाई अघि बढाउन खोजिए त्यो प्रत्युत्पादक हुने चेतावनी दिनुभएको छ। उहाँका अनुसार यस्तो कदमले समस्यालाई केही समयका लागि टारे पनि भविष्यमा स्थिति झन् जटिल र भयानक बन्नेछ, जसले अन्ततः देशलाई ठूलो दुर्घटनातर्फ लैजाने निश्चित छ।
देशको वर्तमान संकट टार्नका लागि कसैले पनि आफूलाई निषेधित वा पाखा लागेको महसुस नगर्ने वातावरण निर्माण हुनुपर्नेमा लिङ्देनले विशेष जोड दिनुभएको छ। यसका लागि राजा, स्थापित राजनीतिक दल र नयाँ युवा पुस्ताबीच एउटा नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको उहाँको तर्क छ। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशलाई एक सकारात्मक सुझावका रूपमा लिन राजनीतिक दलहरूलाई आग्रह गर्दै उहाँले 'नेपाल प्रथम, नेपाली प्रथम' को भावनासहित नयाँ सहमति गर्न आह्वान गर्नुभयो। लिङ्देनले समस्या व्यक्तिमा मात्र नभई समग्र व्यवस्थामा नै रहेकाले व्यवस्था परिवर्तन बिना मुलुकको उन्नति सम्भव नभएको धारणा राख्नुभयो।
आगामी निर्वाचनलाई 'देशको अस्तित्व' सँग जोड्दै अध्यक्ष लिङ्देनले मतदाताहरूलाई सामाजिक सञ्जालको प्रभावमा मात्र नपरी गम्भीरतापूर्वक निर्णय गरेर मतदान गर्न अपिल गर्नुभएको छ। वर्तमान व्यवस्थामै चुनाव गरिए त्यसले मुलुकलाई थप संकटमा धकेल्ने बताउँदै उहाँले अबको बाटो केवल सत्ता परिवर्तन नभई व्यवस्था परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो। मुलुकको सार्वभौमिकता र समृद्धिका लागि सबै शक्तिहरू एक ठाउँमा उभिएर नयाँ राजनीतिक सम्झौता नगरेसम्म नेपालले सही निकास नपाउने उहाँको विश्लेषण रहेको छ।