एमाले ११औं महाधिवेशनको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने

nepaltext.com

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बन्दसत्र आज दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय कमिटीको बैठक लम्बिएपछि बन्दसत्र सुरु हुने समय पटक–पटक सर्दै १२ बजे, १ बजे हुँदै अन्ततः दिउँसो ३ बजेका लागि तय गरिएको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार खानापछि बन्दसत्र प्रारम्भ गरिनेछ ।

काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुने बन्दसत्रमा २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि सहभागी छन् भने सयौं कार्यकर्ता भृकुटीमण्डप परिसरमा भेला भएका छन् । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले पुरानै विधान कायम राखेर महाधिवेशन अघि बढ्ने निर्णय गरेको छ । सो निर्णयअनुसार पोलिटब्युरोको एक तिहाइ संख्याको स्थायी कमिटी गठन गर्ने, पोलिटब्युरो ९९ सदस्यीय बनाउने तथा केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिएको छ ।

बन्दसत्रमा विधान संशोधनका सन्दर्भमा संख्या र संरचनामा मात्र परिवर्तन हुने र अन्य व्यवस्था यथावत् रहने जानकारी दिइएको छ ।

प्रतिक्रिया