पुराना दलको नेतृत्वमा असफलताले जन्मायो जेनजी आन्दोलन : मन्त्री घिसिङ

nepaltext.com

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका राजनीतिक दलका नेताहरू राजनीतिक नेतृत्वमा सफल भए तापनि विकासको नेतृत्वमा असफल भएको भन्दै जेनजी आन्दोलनको जन्म त्यसै कारण भएको बताएका छन्।

बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा सम्पन्न नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८२ मा सम्बोधन गर्दै मन्त्री घिसिङले भने,
“हामीले केही हुँदैछ भन्ने आशा जगाउने काम गर्नुपर्छ। सुशासनको प्रत्याभूति दिनु पनि आवश्यक छ। सबैभन्दा महत्वपूर्ण कुरा निर्वाचन गराउनुपर्ने हो। यो जेनजी आन्दोलन त्यत्तिकै भएको थिएन। लामो समयको निराशा र आक्रोसको बिस्फोटन थियो। देशमा राजनीतिक र प्रणालीगत परिवर्तन धेरै देखियो, तर त्यसपछि विकासको एजेन्डामा नेतृत्व दिन हरेक पटक असफलता रह्यो। पुराना राजनीतिक नेतृत्वहरू धेरै सफल भए, तर सफल विकासकर्ता हुन सकेनन्।”

मन्त्री घिसिङले आफूले ठूलो चुनौतीको बीचमा मन्त्रीको भूमिका निभाएको स्मरण गर्दै भने,
“ठूलो चुनौतीको बीचमा मैले मन्त्रीको भूमिका निभाएँ। जिम्मेवारी लिनुपर्छ भन्ने बिचमा पनि पछाडि हट्ने अवस्था अनुभूति भयो। तर देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई सेफ ल्यान्डिङमा लैजानुपर्ने जिम्मेवारीबोधले मैले यो सरकारमा मन्त्रीको जिम्मेवारी लिएको हुँ।”

उनले पुराना ऐन र कानुनले समृद्धिको जनचाहना पूरा गर्न नसकेको उल्लेख गर्दै, निर्वाचनपछि आउने सरकारले ती ऐन, कानुन र नीतिमा आवश्यक परिवर्तन गर्नुपर्ने धारणा राखे। साथै, सबै राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता गरेको र तोकिएको समयमै निर्वाचन हुने दाबी मन्त्री घिसिङले गरेका छन्।

प्रतिक्रिया