रवि लामिछानेसँग सहमति नजुटेपछि बालेन आफ्नै पार्टी बनाउने तयारीमा

nepaltext.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग करिब ६ घण्टा लामो वार्ता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफ्नै राजनीतिक दल गठन गर्ने गृहकार्यमा जुटेका छन् । लामिछानेसँगको संवादबाट ठोस सहमति नजुटेपछि बालेनले आफ्नै नेतृत्वमा दल बनाएर निर्वाचनमा जाने तयारी थालेका हुन् । रविले बालेनलाई रास्वपामै समाहित गर्ने उद्देश्य मात्र राखेको बुझेपछि बालेनले कांग्रेस, एमालेसहितका दलमा रहेका लोकप्रिय अनुहार, सामाजिक सञ्जालमा प्रभाव राख्ने व्यक्ति र जनताबीच चिनिएका फेसहरूलाई समेटेर अघि बढ्ने रणनीति बनाएका छन् ।

बालेनको स्वकीय सचिवालयका भूपदेव शाह, सुनिल लम्साललगायतका व्यक्तिहरूले विभिन्न दलका लोकप्रिय युवा नेताहरूसँग फोन सम्पर्क गर्दै ‘एकपटक मेयर साबसँग भेटेर छलफल गरौँ’ भन्ने प्रस्ताव राखिरहेका छन् । बालेनको टोलीले बुधबार दिनभर विभिन्न व्यक्तिहरूसँग छलफल गरेको थियो भने यो क्रम बिहीबार पनि जारी रहेको छ । देश विकास पार्टीको नामबाट चुनाव लड्ने तयारीसहित समानुपातिकतर्फका सम्भावित उम्मेदवारहरूको सूची संकलन गर्ने कामसमेत भइरहेको बालेननिकट स्रोतले जनाएको छ ।

यसक्रममा बालेनले जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया तथा विवेकशील साझाका नेता मिलन पाण्डेसँग पनि छलफल गरेका छन् । नेपाल प्रेससँगको सम्पर्कमा आएका रेशमलाल चौधरीले आफूहरू मिलेर चुनावमा जान तयार रहेको बताएका छन् ।

बालेनको टोलीले केही पपुलिस्ट फिगरसहित सबै समुदायभित्र उद्यम, सामाजिक काम वा सार्वजनिक गतिविधिबाट स्थापित भएका युवाहरूको सूची बनाउने काम गरिरहेको छ । बालेनको देशव्यापी प्रभाव बलियो रहेकाले रवि लामिछानेभन्दा पनि बालेनकै अनुहारले बढी मत तान्न सक्ने आँकलन उनका सहयोगीहरूको छ ।

यसबीच बालेनले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीदेखि रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासम्मसँग पनि छलफल गरेका छन् । रवि लामिछानेसँग मिलेर एउटै पार्टीमा जाने सम्भावना पूर्ण रूपमा टरेको भने छैन, तर यसबारे अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको उनका सहयोगीहरूले बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय पूर्वसचिव भीम उपाध्याय र कलाकार निश्चल बस्नेतलगायतका व्यक्तिहरू पनि बालेनको भेलामा सहभागी भएका थिए ।

कुपण्डोलस्थित बैठकस्थलमा विभिन्न व्यक्तिहरूको आवतजावत जारी रहेको र केहीसँग सामूहिक छलफलसमेत भएको जनाइएको छ । सोसल मिडिया इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रियटरहरूको समूह पनि बालेनको पक्षमा उभिन थालेको दाबी उनका सहयोगीहरूले गरेका छन् । बालेनको टोलीमा रास्वपा छाडेकी सुमना श्रेष्ठ र रास्वपाकै नेता गणेश कार्कीलगायतका व्यक्तिहरू रहने भएका छन् ।

प्रतिक्रिया