काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारका मन्त्रीहरूलाई कुनै पनि राजनीतिक दलप्रति झुकाव देखाउने छुट नभएको स्पष्ट पारेका छन्। गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको दोहोर्याएका हुन्। तोकिएको समयमै निर्वाचन हुन्छ भन्ने विषयमा शंका नगर्न आग्रह गर्दै अर्यालले निर्वाचन प्रक्रिया सफल बनाउन सरकार पूर्ण रूपमा केन्द्रित रहेको बताए।
उनले जेन–जी आन्दोलन सुशासन कायम गर्ने उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै सरकार पनि सुशासन स्थापनामा दृढ रहेको दाबी गरे। तोकिएको मितिमा निर्वाचन हुन नसके देशले गम्भीर संकटको सामना गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिँदै गृहमन्त्री अर्यालले सरकारले जसरी पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने बताए। साथै, सरकारले गरिरहेका कामप्रति सकारात्मक हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन सबै पक्षलाई उनले आग्रह गरेका छन्।
यसै कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूका गतिविधिका कारण निर्वाचनको वातावरण बिग्रन सक्ने जोखिमतर्फ सचेत गराए। उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधनस्रोतसहित सक्षम बनाइनुपर्नेमा जोड दिए। साथै, एआई र सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रम, गलत सूचना र त्यसले पार्न सक्ने असरबारे गम्भीर ध्यान दिनुपर्ने आवश्यकता पनि उनले औँल्याए।