अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

nepaltext

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतका उच्चपदस्थ अधिकारी, कूटनीतिज्ञ तथा उद्योगी व्यवसायीसँग भेटवार्ता र छलफल गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा अर्थमन्त्री वाग्ले सहभागी हुनेछन् । त्यसैगरी, शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन साँझ साढे ७ बजे भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुनेछन् ।

भ्रमणको अन्तिम दिन शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।

त्यसपछि बिहान साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी भएर उनी शनिबार साँझ ४ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ ।

अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारीलगायत सहभागी छन् ।

अर्थमन्त्रीको सचिवालयका अनुसार विपद्पश्चात्को पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक क्षेत्रमा सहकार्यका विभिन्न आयामबारे छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य हो।

 

प्रतिक्रिया