दाङ–२ शंकर पोखरेलको लागि चुनौतीपूर्ण बन्दै, चारै दल कडा प्रतिष्पर्धी

nepaltext.com

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा दाङ क्षेत्र नम्बर २ मा चुनावी माहोल तातेको छ। यस क्षेत्रमा मुख्यगरी चारवटा राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा एमालेका शंकर पोखरेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, रास्वपाका विपिनकुमार आचार्य र नेकपाका निर्मल आचार्यबीचको भिडन्तले यस क्षेत्रको चुनावी परिणामलाई रोचक बनाएको छ।

विगतको नतिजालाई हेर्दा यो क्षेत्र निकै प्रतिस्पर्धात्मक देखिन्छ। २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रेखा शर्माले २६ हजार ८८० मत ल्याएर शंकर पोखरेललाई मात्र १९३ मतान्तरले पराजित गरेकी थिइन्। त्यतिबेला पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका थिए भने रास्वपाका विशाल अधिकारीले १५ हजार ८६१ मत ल्याएका थिए। यद्यपि, समानुपातिकतर्फ एमाले २३ हजार ५६८ मतसहित पहिलो दल बनेकाले यसपटक एमाले आफ्नो जीत सुनिश्चित भएको दाबी गरिरहेको छ।

यसपटक कुनै औपचारिक चुनावी गठबन्धन नभएकाले प्रतिस्पर्धा झनै खुल्ला र रोमाञ्चक बनेको छ। एमाले कार्यकर्ताहरूले स्थानीय तहमा पार्टीको संगठन विस्तार र युवाहरूको आकर्षण बढेकाले शंकर पोखरेलको पक्षमा माहोल बलियो भएको दाबी गरेका छन्। घरदैलो अभियानका क्रममा पोखरेलले मोटरबाटो, खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता स्थानीय आवश्यकतालाई मुख्य मुद्दा बनाएका छन्। पुराना र अधुरा विकासका योजना पूरा गर्न सक्ने नेताको रूपमा आफूलाई प्रस्तुत गर्दै उनी मतदाता रिझाउन व्यस्त छन्।

प्रतिक्रिया