काठमाडौं । सरकारले दक्षिण कोरिया जान चाहने नेपाली कामदारको अवसर सुनिश्चित गर्न रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी तीन महत्वपूर्ण निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार, इपिएस परीक्षा पास गरी रोस्टरमा नाम दर्ता गराएका तर विभिन्न कारणले हालसम्म अवसर प्राप्त गर्न नसकेका उम्मेदवारलाई पनि लाभ पुग्ने व्यवस्था मिलाउन मन्त्रालयले पहल थालेको छ। यसअनुसार, कोरिया जाने रोस्टरमा हालको सीमामा रहेका व्यक्तिको मान्य अवधि थप्ने विषयमा कूटनीतिक माध्यमबाट कोरिया सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ।
साथै, इपिएस प्रणाली अन्तर्गत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिका माग र कोरिया जाने कोटा वृद्धि गर्ने विषयमा पनि आवश्यक कूटनीतिक पहल गरिने भएको छ। यसैगरी, रोस्टरमा नाम रहेका व्यक्तिको व्यक्तिगत विवरण रोजगारदातासम्म पठाउने प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम राख्न आवश्यक सुझावसहित कार्यदल गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकमा भएको छ।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताएअनुसार, यही पुस १८ गते मन्त्रिपरिषद् बैठकमा लिइएको निर्णयलाई कार्यान्वयनमा ल्याउन अहिले पहल भइरहेको छ। यस कदमबाट इपिएस परीक्षा उत्तीर्ण नेपाली कामदारले कोरिया जानको अवसर समान र व्यवस्थित रूपमा पाउने विश्वास व्यक्त गरिएको छ।