क्यानडाले दियो नेपाललाई १६२ रनको लक्ष्य

nepaltext.com

काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारी अन्तर्गत अन्तिम अभ्यास खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। चेन्नईस्थित एमए चिदम्बरम मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको छ र नेपाललाई १६२ रनको लक्ष्य दिएको छ। क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रनको योगदान दिए भने श्रेयस मोव्वाले अविजित ३८ रन जोड्दै अन्त्यतिर आक्रामक ब्याटिङ प्रदर्शन गरे। विशेषगरी १८औँ ओभरमा उनले दुई छक्का र एक चौका प्रहार गर्दै क्यानडाको स्कोर उकासेका थिए। कन्वरपाल ताथगुरले २५ रन बनाए भने जास्करन सिंहले ११ बलमा तीन छक्कासहित २१ रन जोडेर छोटो तर प्रभावशाली इनिङ खेले। निकोलस किर्तोनले १० रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार ओभरमा मात्र १४ रन खर्चेर दुई विकेट लिए भने कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट हात पारे। सोमपाल कामी र नन्दन यादवले पनि समान एक–एक विकेट लिएका छन्। यसअघि नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गर्दै आत्मविश्वास बढाएको थियो, र क्यानडाविरुद्धको यो खेल विश्वकपअघि टोलीको अन्तिम तयारीको महत्वपूर्ण परीक्षा बनेको छ।

प्रतिक्रिया