ललितपुरबाट नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउने उद्देश्यसहित बाजागाजा, सांस्कृतिक झाँकी र पारम्परिक पोसाकसहित भव्य र्याली सुरु भएको छ । कुपण्डोलबाट सुरु भएको यो जुलुसको नेतृत्व पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठलगायत शीर्ष नेताहरूले गरेका छन् । पार्टीको संगठनात्मक शक्ति, सांस्कृतिक विविधता र राजनीतिक उत्साह झल्काउने गरी निस्किएको र्यालीमा कार्यकर्ता, शुभेच्छुक र विभिन्न सांस्कृतिक समूहको उल्लेखनीय सहभागिता देखिएको छ । विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा हुने कार्यक्रम रहेको छ भने उद्घाटन समारोह सम्पन्न भएपछि आजै बन्द सत्र पनि प्रारम्भ गरिनेछ । सोमबारसम्म सञ्चालन हुने यस महाधिवेशनलाई सफल पार्न कुपण्डोलसँगै काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट समेत जुलुस भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।