काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले उपसमिति गठन गर्दै महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति बनाएका छन् र प्रत्येकको संयोजक तोकेका छन्। पार्टीको संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका छन्। आज पत्रकार सम्मेलनमार्फत् उनीहरूले पार्टी नेतृत्वलाई विशेष महाधिवेशनको स्वामित्व लिन आग्रह गरेका छन्। सम्मेलनमा जारी वक्तव्यमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग पेश गरिएको उल्लेख छ। वक्तव्यमा भनिएको छ कि विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग गरिएको विशेष महाधिवेशन नहुने परिकल्पना गरेको छैन र यसलाई असान्दर्भिक वा औचित्यहीन ठान्ने अधिकार कसैलाई छैन।
त्यसैगरी, ०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने विधानको व्यवस्थालाई उल्लङ्घन गर्ने सुविधा कसैलाई छैन। विज्ञप्तिमा भनिएको छ, ‘यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो। यसलाई कार्यान्वयन गर्नु हामी सबैको साझा कर्तव्य र जिम्मेवारी हो।’ पार्टी विधानको धारा १५ अनुसार केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च निकाय मानिन्छ र यसले गर्ने हरेक निर्णयले स्वतः वैधता पाउँछ।
वक्तव्यमा थप भनिएको छ, पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ र आयोजनाको स्वामित्व लिनेछ भन्नेमा विश्वास छ। विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै, वर्तमान संवेदनशील परिस्थितिमा पार्टी विधानको सर्वोच्चतालाई अक्षुण्ण राख्दै नेपाली कांग्रेसको आन्तरिक एकतालाई थप सुदृढ बनाउने यो महाधिवेशन कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरिएको छ।