विराटनगर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भनेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश।’ साम्पाङ २०७९ को स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए। मेयरमा निर्वाचित भएपछि उनी निर्दलीयबाट आफ्नो अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराउन सफल भए।
यसअघि सुनसरी-१ बाट एमाले/जसपा गठबन्धनका अशोक राई निर्वाचित भएका थिए। आगामी निर्वाचनमा एमालेबाट केन्द्रीय सदस्य मन्जु भण्डारी, पूर्वप्रतिनिधि सभा सदस्य जयकुमार राई र टिका माङ्लेनलगायतको नाम सिफारिस भएको छ। नेपाली कांग्रेसले पनि सुनसरी-१ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि उमेश थापासहित आठ जनाको नाम सिफारिस गरेको छ। कांग्रेसले सिफारिस गरेका अन्य नाममा महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला संघ जिल्ला सदस्य रुक्मिणा गौतम (कोपिला), महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठ रहेका छन्।