भदौ २३–२४ को घटनाबारे ओलीको बयानका ६ मुख्य बुँदा सार्वजनिक

nepaltext.com

२२ पुस, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन्। ओलीले आइतबार जाँचबुझ आयोगसमक्ष आफ्नो बयान दिएका थिए, जसका लागि आयोगका अधिकारीहरू गुण्डुस्थित ओलीकै निवासमा पुगेका थिए। बस्नेतका अनुसार आयोगलाई ओलीले दिएको जवाफका मुख्य ६ बुँदालाई उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। सार्वजनिक विवरणमा आन्दोलनको प्रकृति, त्यसक्रममा भएको अराजकता, सुरक्षा संयन्त्रको भूमिका, निर्णय प्रक्रियामा भएका छलफल तथा घटनाक्रमसँग जोडिएका विभिन्न पक्षबारे ओलीको धारणा समेटिएको जनाइएको छ। भदौ २३ र २४ गतेका घटनाबारे जारी राजनीतिक बहसका बीच ओलीको बयानका मुख्य बुँदा सार्वजनिक भएपछि यो विषयले फेरि राजनीतिक वृत्तमा चर्चा पाएको छ।

पहिलो : २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको ।

दोस्रो : आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका ।

तेस्रो : आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको ।

चौथो : २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय ।

पाचौं : २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको ।

छैठौं : गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका ।

प्रतिक्रिया