काठमाडौँ । प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै नेपाली कांग्रेसका थप ७० सांसद पूरक रिट निवेदन लिएर सर्वोच्च अदालत जाने भएका छन् । यसअघि नेकपा एमालेले संस्थागत निर्णयमार्फत ७५ सांसदको हस्ताक्षरसहित रिट निवेदन दर्ता गराइसकेको छ । कांग्रेसतर्फबाट प्रमुख सचेतक श्याम घिमिरेसहित ८ सांसदले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले यसअघि नै कारण देखाउ आदेश जारी गरिसकेको छ ।
विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसद पुनःस्थापना भएपछि सरकार गठन गर्न सकिने र आवश्यक कानुन तथा संविधान संशोधन गर्ने सामर्थ्य रहेको पुष्टि गर्न १ सय ३८ भन्दा बढी सांसद अदालतमा पूरक निवेदन लिएर जान लागेका हुन् । यसैबीच जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको समेत हस्ताक्षर जुटाएर पूरक निवेदन दायर गर्ने तयारी भइरहेको बताइएको छ ।