काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय फेरि नयाँ उत्साहसहित सजिन थालेको छ।
भदौ २४ गतेको घटनामा पार्टी कार्यालयमा गरिएको आगजनीपछि भौतिक संरचना मात्र नभई आन्तरिक सजावट पनि क्षतिग्रस्त भएको थियो। तर, त्यसको केही दिनमै कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले कार्यालय सजाउने अभियान थालेका छन्।
यही क्रममा संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला (वीपी) को तस्बिर पुनःस्थापना गरिएको छ। साथै, कार्यालय परिसरमा “हामी फेरि उठ्ने छौं” भन्ने सन्देशसहितको ब्यानर टाँसिएको छ।
नेविसंघका कार्यकर्ताले भनेका छन्,
“आगोले भवन क्षतिग्रस्त बनाउन सक्छ, तर हाम्रो विश्वास, विचार र संगठनलाई कुनै शक्तिले क्षति पु¥याउन सक्दैन। हामी फेरि उठ्छौं, अझ सबल भएर।”
यससँगै कांग्रेस कार्यालयलाई पुनःस्थापना र पुनर्निर्माणको क्रममा रहेका कार्यकर्ताहरूले संस्थापक नेताको स्मरणमार्फत मनोबल जगाउने प्रयास गरेका छन्।
२७ भदौ २०८२, शुक्रबार ०३:४६ मा प्रकाशित