नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम साढे ६ अर्ब नाघ्यो

nepaltext

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । अघिल्लो दिनबाट सुधारको लयमा फर्किएको बजारले शुक्रबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

शुक्रबार नेप्से परिसूचक २२.८५ अङ्कले बढेर २ हजार ६४७.२२ विन्दुमा पुगेर बन्द भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३२ अङ्कले बढेको छ । फ्लोट इन्डेक्स १.८७ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९० अङ्कले उकालो लागेका छन् ।

बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

शुक्रबार ३४५ कम्पनीका ६४ हजार ७२ पटकको कारोबारमा २ करोड १२ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढ्दा दुई उपसमूहको परिसूचक घटेको छ । लगानीकर्ताको आकर्षण बैंकिङ क्षेत्रमा देखिएको छ । बैंकिङ उपसमूहको परिसूचक १.५९ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक पनि करिब १.५ प्रतिशतले उकालो लागेको छ । वित्त र अन्य उपसमूह भने सामान्य अङ्कले घटेर बन्द भएका छन् ।

शुक्रबार स्नो रिभर्स लिमिटेडको सेयर मूल्य १३.६६ प्रतिशतले बढेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत तथा मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ । विपरीत, हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य १५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया