वैदेशिक रोजगारीमा पठाएका श्रमिकको विवरण बुझाउन म्यानपावरलाई विभागको निर्देशन

nepaltext

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थाबारे विवरण अनिवार्य रूपमा उपलब्ध गराउन म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ ।

विभागले इजाजतपत्र प्राप्त संस्थालाई आगामी २१ असोजभित्र श्रमिकको अवस्था सम्बन्धी विवरण पेस गर्न निर्देशन दिएको हो । विभागले गत असारमै म्यानपावर कम्पनीले आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकको अवस्थाबारे हरेक तीन महिनामा प्रगति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार विभागले पुनः ताकेता गरेको हो ।

श्रमिकको हक, हित र सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित विवरण विभागको संस्था अनुगमन शाखामा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा पठाइएका प्रत्येक श्रमिक सुरक्षित रूपमा सम्बन्धित गन्तव्य मुलुक पुगे वा नपुगेको विवरण १५ दिनभित्र प्राप्त गर्नुपर्नेछ । त्यसका लागि म्यानपावर कम्पनीले श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी आवश्यक विवरण संकलन गर्नुपर्नेछ ।

त्यस्तै, श्रमिकले वैदेशिक रोजगार सम्झौताअनुसार काम, तोकिएको पारिश्रमिक तथा अन्य सेवा–सुविधा पाए वा नपाएको विषयमा समेत श्रमिकसँग सम्पर्क गरी विवरण तयार गर्न विभागले निर्देशन दिएको छ ।

म्यानपावर कम्पनीले संकलन गरेको श्रमिकको अवस्था तथा प्रगति विवरण श्रमिक उडान भएको २० दिनभित्र विभागको संस्था अनुगमन शाखामा इमेलमार्फत पेस गर्नुपर्नेछ ।

विभागले निर्देशन पालना नगर्ने वा नेपाली श्रमिकको अवस्थासम्बन्धी सूचना अद्यावधिक नगर्ने इजाजतपत्र प्राप्त संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया