एमाले महाधिवेशनमा लोकगायिका ज्योती मगरको सक्रिय उपस्थिति, पूर्ण गुरुङको पक्षमा नाच्दै नाराबाजी

nepaltext.com

काठमाडौं । चर्चित लोकगायिका ज्योती मगर नेकपा एमालेको ११ औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा देखिएकी छन् । उनी महाधिवेशनका क्रममा एक उम्मेदवारको पक्षमा भोट माग्दै जुलुसमै सहभागी भएकी हुन् । जनजाति समुदायका उम्मेदवारहरूको समर्थनमा निकालिएको झाँकीमा ज्योती उत्साहपूर्वक सहभागी भइन् । उनको हातमा पूर्ण गुरुङको जितका लागि अपिल गरिएको पोस्टर थियो । जुलुसमा सहभागीहरूले ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो…’ भन्दै नाराबाजी गरेका थिए, जसमा ज्योतीले नाच्दै नाराबाजीमा साथ दिएकी थिइन् । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले महाधिवेशनको माहोल एकदमै रमाइलो लागेको बताइन् । आफू उम्मेदवार नभए पनि पूर्ण गुरुङलाई समर्थन गरेको उनको भनाइ थियो ।

ज्योतीले भनिन्, ‘समावेशीताको कुरा छ । युवालाई पुस्तान्तरण गर्नुपर्ने कुरा छ। त्यसकारणले युवा नेता पूर्ण गुरुङ चाहियो ।’

हालसम्म ज्योती मगर औपचारिक रूपमा एमाले पार्टीमा प्रवेश गरेकी छैनन् । यद्यपि, उनका पछिल्ला अन्तर्वार्ताहरूमा एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति सद्भाव प्रकट हुँदै आएको देखिन्छ ।

प्रतिक्रिया