काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाहरूका लागि प्रतिनिधिसभा उम्मेदवार आज बेलुकीसम्म टुंग्याउने तयारी गरेको छ । सभापति गगन थापाको संयोजकत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन भइसकेपछि पछिल्ला दुई दिनदेखि बोर्ड बैठकमा उम्मेदवारका आकांक्षीहरूमाथि गहन छलफल भइरहेको छ । पार्टीका तल्ला निकाय—प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश समितिबाट सिफारिस भई आएका नामहरूलाई आधार मानेर उम्मेदवार चयन गर्ने प्रक्रियामा कांग्रेस अगाडि बढेको हो । प्रवक्ता देवराज चालिसेले सेतोपाटीलाई जानकारी दिँदै आज बेलुकीसम्म २० वटा हिमाली जिल्लाका उम्मेदवारहरू टुंगो लगाइने बताए । पार्टीभित्र सहमति र समन्वयलाई प्राथमिकतामा राख्दै सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले सबै पक्ष र समूहलाई समेटेर कांग्रेसलाई अघि बढाइने स्पष्ट पारेका छन्, जसले उम्मेदवार चयन प्रक्रियामा समावेशी र सन्तुलित निर्णयको संकेत दिएको छ ।