विशेष महाधिवेशनमा मनोनयन दर्ता सँगसँगै उम्मेदवारलाई ‘फिर्ता लिन’ मन्जुरीनामा पनि

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताको क्रम जारी रहँदा उम्मेदवारहरूलाई मनोनयन दर्ताकै क्रममा ‘उम्मेदवारी फिर्ता लिन तयार छु’ भन्ने मन्जुरीनामा फाराममा समेत हस्ताक्षर गराइएको छ । निर्वाचन समितिका सदस्यहरूका अनुसार पार्टी नेतृत्वलाई सर्वसहमतिबाट चयन गर्ने प्रक्रियामा कुनै अवरोध नआओस् र एउटै पदमा धेरै उम्मेदवारी परेपछि अनिवार्य रूपमा मतदानमा जानुपर्ने अवस्था नबनोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । समितिका एक सदस्यले भने, ‘सर्वसहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भइरहेकाले यदि एउटै पदमा धेरै उम्मेदवार परे र पछि सहमतिका लागि फिर्ता गराउनुपर्‍यो भने कानुनी तथा प्रक्रियागत बाधा नहोस् भनेर प्रारम्भमै फिर्ता लिन तयार रहेको लिखित सहमति गराइएको हो ।’ उनका अनुसार महाधिवेशन हलबाट प्राप्त सहमतिको म्यान्डेट कार्यान्वयन गर्न सहज होस् भन्नका लागि पनि उम्मेदवारहरूबाट यस्तो प्रतिबद्धता लिइएको हो ।

प्रतिक्रिया