वीरगञ्जमा कर्फ्यू साँझ ६ बजेसम्म लम्बियो, सुरक्षा सतर्कता कडा

nepaltext.com

२२ पुस, जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्मका लागि लम्ब्याइएको छ। धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो। सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्यू यसअघि दिउँसो १ बजेसम्म लम्ब्याइएको थियो भने पुनः थप गर्दै साँझ ६ बजेसम्म पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ। कर्फ्यूको अवधिमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्किनै परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नम्बरमा फोन गरेर बाहिर निस्कन प्रशासनले अनुरोध गरेको छ।

कर्फ्यू आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण गरिने प्रशासनले जनाएको छ। धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गर्दै आएका छन्, जसका कारण शहरको अवस्था क्रमशः अशान्त बन्दै गएको प्रशासनको भनाइ छ।

प्रतिक्रिया