“पद होइन, पार्टी जोगाऔँ” : देउवासँग शेखर कोइरालाको स्पष्ट अपिल

nepaltext.com

नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवादका बीच नेता डा. शेखर कोइरालाले पार्टी विभाजनतर्फ जान नदिन सभापति शेरबहादुर देउवामाथि संवाद र सहमतिको पहल गर्न दबाव बढाएका छन्। महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटमा कोइरालाले पद, हैसियत वा आगामी नेतृत्वको बहसभन्दा पनि कांग्रेसलाई एकीकृत राख्नु नै सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्ने धारणा राखेका हुन्। महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरिसकेको वर्तमान अवस्थामा सबै पक्षको सम्मान हुनेगरी समाधान खोजिनुपर्नेमा जोड दिँदै उनले पार्टीभित्रको अविश्वास र टकरावले विभाजनको खतरा बढाएको संकेत गरेका छन्।

भेटका क्रममा कोइरालाले देउवालाई आफ्नो व्यक्तिगत चिन्ता स्पष्ट शब्दमा राख्दै पार्टी विभाजनको पीडा आफूले स्वीकार गर्न नसक्ने बताएका छन्। ‘म कोइराला हुँ, पार्टी विभाजन भएको हेर्न सक्दिन । विभाजनको पीडा तपाईंले पनि भोग्नुभएकै छ । के–के गर्नुपर्छ गरौँ, तर विभाजन रोकौँ,’ भन्दै उनले भावनात्मक अपिल गरेका थिए। उनले आफू भोलि कांग्रेसको सभापति बन्छु वा बन्दिनँ भन्ने विषय गौण भएको र कांग्रेस सग्लो रहन्छ कि रहँदैन भन्ने प्रश्न नै निर्णायक भएको उल्लेख गर्दै एकता जोगाउन देउवाले अग्रसरता लिनुपर्ने बताएका छन्।

जवाफमा सभापति देउवाले पछिल्लो राजनीतिक र पार्टीगत अवस्थाप्रति आफू पनि चिन्तित रहेको प्रतिक्रिया दिँदै सबै पक्षसँग संवाद गर्न तयार रहेको संकेत दिएका छन्। छलफलमा कोइरालाले महामन्त्रीद्वयले भृकुटीमण्डपमा आह्वान गरेको विशेष महाधिवेशनलाई टकरावको थलो नबनाई ‘संकल्प सभा’का रूपमा रूपान्तरण गरेर साझा निकास खोज्न सकिने सुझावसमेत दिएका छन्। उनका अनुसार विधानअनुसार समयमै महाधिवेशन हुनुपर्छ भन्ने मान्यता कायम राख्दै, चुनावी चुनौती र संगठनात्मक समस्याले थलिएको पार्टीलाई एकताबद्ध बनाउने अवसरका रूपमा उक्त भेलालाई प्रयोग गर्न सकिन्छ।

यसैक्रममा शेखर कोइरालाले महामन्त्रीद्वयसँग संवाद, छलफल र समाधानको विकल्प खोज्न देउवाले नै पहल लिनुपर्ने भन्दै दबाव बढाएका छन्। सोही एजेन्डालाई अघि बढाउँदै आजै दिउँसो २ बजेपछि उपसभापति धनराज गुरुङ तथा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसहित पुनः सभापति देउवासँग छलफल गर्ने कार्यक्रम तय भएको छ। कांग्रेसभित्रको यो संवाद प्रयासले पार्टीलाई विभाजनबाट जोगाउँदै सहमतितर्फ डोर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया