संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

nepaltext

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु आजको प्रमुख दायित्व भएको बताएका छन्।

संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तनलाई पूर्णता दिन सबै पक्षको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका हुन्।

संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने कुनै पनि प्रयास स्वीकार्य नहुने उल्लेख गर्दै संयोजक दाहालले संविधानका मूल्य, मान्यता र जनअधिकार कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

उनले राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन्।

‘संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ’, उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।

संयोजक दाहालले संविधानलाई केवल कानुनी दस्तावेजका रूपमा मात्र नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्।

उनले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत जनताले प्राप्त गरेका अधिकार र उपलब्धिलाई संस्थागत गर्दै समृद्धि तथा सामाजिक न्यायको दिशामा अघि बढ्नुपर्नेमा समेत जोड दिएका छन्।

प्रतिक्रिया