उम्मेदवारी फारामकै लागि लामो लाइन, एमाले महाधिवेशनमा नेतृत्व चयनको चटारो

nepaltext.com

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी फाराम वितरण सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिने तयारी गरेपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा राजनीतिक चहलपहल बढेको छ । आकांक्षीको संख्या धेरै भएपछि छापेर ल्याइएका उम्मेदवारी फाराम सकिँदा प्रतिनिधिहरू लामो लाइनमा बस्न बाध्य भएका छन् ।

३०१ सदस्यीय केन्द्रीय कमिटी गठनका लागि एमालेका २२६३ जना प्रतिनिधि महाधिवेशनस्थलमा उपस्थित छन् । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र भोलि मतदान गराउने गरी कार्यतालिका तय गरिएको छ । बिहान १२ बजेसम्म उम्मेदवारी फाराम वितरण गरिनेछ भने दिउँसो २:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने कार्यक्रम छ ।

प्रारम्भिक नामावली सार्वजनिक भएपछि साढे २ बजेदेखि आधा घण्टासम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरिएको छ । उजुरी छानबिनपछि साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया