बुटवल । सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज एक नम्बर इजलासमा परेको छ। लामिछाने र जोशीको मुद्दा उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले रातोपाटीलाई जानकारी दिएका छन्। उक्त मुद्दा गत हप्ता ‘हेर्न नमिल्ने’मा परेको थियो भने त्यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएर बहस रोकेको थियो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको आफ्नो भागको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।