नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न सबै संगठन तहमा परिपत्र जारी गरेको छ। महासचिव गगन थापाले सातै प्रदेश, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र, ६ महानगर, ११ उपमहानगर, सबै नगरपालिका, गाउँपालिका र वडा कार्यसमितिमा परिपत्र पठाउँदै नयाँ सदस्यता सहज रूपमा दिन निर्देशन दिएका छन्। उनले पठाएको परिपत्रमा, ‘नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली र केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकोले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले सदस्यता नवीकरण तथा वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन हुन यो परिपत्र गरिएको छ,’ उल्लेख छ।
महासचिव थापा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजकसमेत हुन्। उनले सबै क्षेत्रमा नयाँ क्रियाशील सदस्यता फारम पठाइसकिएको जानकारी दिंदै पुस ११ गतेभित्र नयाँ र नवीकरण भएका सदस्यताको विवरण केन्द्रमा पठाइसक्न आग्रह गरेका छन्। नवीकरण गर्न योग्य व्यक्तिको नवीकरण कुनै पनि कारणले रोकिएमा केन्द्रले स्वयं नवीकरण गरिदिने प्रावधान रहेकोले सकेसम्म सम्बन्धित तहमै सबैको नवीकरण पूरा गर्न कांग्रेसले निर्देशन दिएको छ। परिपत्रमा ‘नवीकरण गर्दा मृत्यु भएका, पार्टी परित्याग गरेका, केन्द्रीय अनुशासन समितिले अन्तिम कारबाही गरेर निष्कासन गरेका तथा "मेरो क्रियाशील नवीकरण नगरिदिनु" भनी लिखित वा मौखिक आग्रह गरेकाहरु बाहेक सबै सदस्यहरूको नवीकरण अनिवार्य रूपमा गर्न आवश्यक व्यवस्था गर्नुपर्नेछ,’ उल्लेख छ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीका अनुसार पार्टीले उदार ढंगले सदस्यता वितरणको काम गरिरहेको छ। कांग्रेसले अन्य पार्टी छाडेर आएका व्यक्तिलाई पनि क्रियाशील सदस्यता दिने निर्णय केन्द्रीय समितिबाट गरिसकेको छ। पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने तयारी भइरहेका बेला वडादेखि प्रदेश तहसम्मका अधिवेशन पनि सोहीअघि सम्पन्न हुनेछन्।