काठमाडौं । समसामयिक लेखन, मानव अधिकार तथा साहित्य क्षेत्रमा सक्रिय डा. टीकाराम पोखरेल खुला राष्ट्रिय निबन्ध प्रतियोगिता–२०८३ मा द्वितीय हुन सफल भएका छन्।
नेपाली लेखक संघसँगको सहकार्यमा जी.पी. कोइराला मेमोरियल कलेज, चाबहिल काठमाडौंले गिरिजाप्रसाद कोइरालाको १०३औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा डा. पोखरेलले "लोकतन्त्र र शान्ति स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान" शीर्षकको निबन्ध प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गरेका हुन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत पोखरेललाई नगद रु. १५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको कलेजले जनाएको छ। डा. पोखरेल दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–२ का स्थायी वासिन्दा हुन्।
साहित्य, शिक्षा, मानव अधिकार तथा सामाजिक क्षेत्रमा सक्रिय डा. पोखरेलको यो उपलब्धिलाई दोलखाको बौद्धिक तथा साहित्यिक क्षेत्रका लागि गौरवपूर्ण सफलताका रूपमा हेरिएको छ। राष्ट्रियस्तरको प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्दै उनले आफ्नो लेखन क्षमता र सिर्जनशीलतालाई पुनः पुष्टि गरेका छन्।
पुरस्कार तथा सम्मान ग्रहणपछि शुभेच्छुकहरूले डा. पोखरेललाई बधाई तथा आगामी दिनमा थप सिर्जनात्मक योगदानका लागि शुभकामना व्यक्त गरेका छन्।
“राष्ट्रियस्तरको प्रतिस्पर्धामा दोलखाका स्रष्टा पोखरेलले हासिल गरेको यो सफलता समग्र जिल्लाकै गौरवको विषय बनेको छ।”
डा. पोखरेल हाल राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव एवं प्रवक्ताको भुमिकामा छन् ।
सहसचिव पोखरेललाई बुधबार विहान आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाले नगद पुरस्कार सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।।