आजदेखि कांग्रेस महाधिवेशनको प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

nepaltext

काठमाडौँ । नेपाली कांग्रेसको वडा तहको अधिवेशन आजदेखि सुरु हुँदैछ। असोज ३ र ४ गते देशभर सञ्चालन हुने अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहजनक सहभागिता जनाउन कांग्रेसले आग्रह गरेको छ।


कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ। सोही महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम सञ्चालन गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।


समितिका अनुसार जिल्ला निर्वाचन अधिकृतहरूले जिल्लाका साथै स्थानीय तहमा रहेका पार्टीका जिम्मेवार पदाधिकारी तथा सदस्यहरूसँग निर्वाचन प्रक्रियाबारे आवश्यक छलफल गरिसकेका छन्। साथै, वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका आवश्यक तयारीसमेत पूरा भएको जनाइएको छ।


केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका सम्बन्धमा फैलिन सक्ने अफवाह तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ। समितिले निर्धारित मिति असोज ३ र ४ गते हुने निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई अनुरोध गरेको छ।

प्रतिक्रिया