२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेको बताएका छन्। उनले यसपटक अन्तिमपटक चुनावी प्रतिस्पर्धामा उत्रिने संकेत आफ्ना नजिकका नेताहरूसँग गरेका हुन्। डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवारीको इच्छा व्यक्त गरेपछि उनलाई सर्वसम्मत सिफारिस गर्ने तयारी गरिएको छ। अघिल्लो सातामा महाराजगञ्जस्थित निवासमा देउवालाई भेट्न पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्ने मनसाय प्रकट गरेको जानकारी दिएका थिए। ती नेताका अनुसार, ‘साथीहरूले तपाईं नै उठ्नुपर्यो भनेका छन्। म उठ्छु भन्नुभएको छ।’
मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि देउवाले अन्तिमपटक चुनावमा उठ्ने निर्णय सुनाएको बताए। कांग्रेसले यसै महिना अन्त्यसम्म केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ। निर्वाचन क्षेत्रीय समितिलाई मंसिर २५ भित्र प्रदेश समितिमा नाम पठाउन आग्रह गरिएको छ। कांग्रेस विधानअनुसार एक महिला सहित तीन जनाको नाम माथिल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ।
देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुरामा चुनाव जित्दै आएका छन्।