नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

nepaltext

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन प्रणालीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने उद्देश्यसहित नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ।

बिहीबार बसेको विश्वविद्यालयको योजना परिषद्को स्थायी समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि विश्वविद्यालयसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरिएको हो।

बैठकमा उपकुलपति तथा योजना परिषद्का अध्यक्ष प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा अनुसन्धान क्षेत्रको समग्र गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

योजना निर्देशनालयका निर्देशक तथा योजना परिषद्का सदस्य–सचिव डा. लक्ष्मीकान्त शर्माले आगामी नीति तथा कार्यक्रममा समावेश गरिएका प्रमुख प्राथमिकता, उद्देश्य तथा कार्ययोजनाबारे सदस्यहरूलाई जानकारी गराएका थिए।

बैठकमा सहभागी सदस्यहरूले नीति तथा कार्यक्रमलाई समयानुकूल, गुणस्तरीय, प्रविधिमैत्री र कार्यान्वयनयोग्य बनाउन विभिन्न सुझाव दिएका थिए।

छलफलका क्रममा प्राप्त सुझावहरू समेटेर योजना परिषद्को पूर्ण बैठकबाट अनुमोदन गराई आगामी त्रिभुवन विश्वविद्यालय सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिने विश्वविद्यालयले जनाएको छ।

प्रतिक्रिया