काठमाडौँ । सरकारले अघिल्लो सरकारले नियुक्त गरेका विभिन्न देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, संयुक्त अधिराज्यलगायतका देशमा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलका अनुसार चीनका लागि राजदूत प्रा. डा. कृष्ण प्रसाद ओली, जर्मनीका लागि डा. शैल रुपाखेती, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्र प्रसाद तिमिल्सिना, कतारका लागि रमेश चन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेश विक्रम ढकाल, स्पेनका लागि सनिल नेपाल, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी र जापानका लागि दुर्गा बहादुर सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरिएको हो।
मन्त्री खरेलका अनुसार नयाँ राजनीतिक सन्दर्भ र कूटनीतिक प्राथमिकता अनुसार आगामी दिनमा राजदूतहरूको नयाँ नियुक्ति प्रक्रिया अघि बढाइने तयारी पनि सरकारले थालेको छ।