काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीको संस्थापन समूहसँग वार्ता अघि बढाउन आठ बुँदे प्रस्ताव पेश गरेको छ। प्रस्तावअनुसार महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर महाधिवेशन अघि बढाउनुपर्ने रहेको छ।
प्रस्तावका मुख्य बुँदा अनुसार कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवाले बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व महाधिवेशन पक्षले लिनुपर्ने, र प्रधानमन्त्रीको उम्मेदवार थापालाई तय गरेर जानुपर्ने उल्लेख गरिएको छ। साथै, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्ने, निर्वाचन केन्द्रित कामकाजका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र बनाउने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने, र महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्ने व्यवस्था प्रस्तावमा समावेश छ।